(१) कुनैकर्मचारीका परिवारले त्यस्तो कर्मचारी कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहेमा देहायका कागजात संलग्न गरी प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ –
(क) बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
(ख) कर्मचारी वहाल रहेको कार्यालयको सिफारिस,
(ग) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण ।
(२) उपनियम (१) बमोजिम प्राप्त कागजातका आधारमा नागरिकताको प्रमाणपत्र प्रदान गरी त्यसरी प्रदान गरिएको नागरिकता प्रमाणपत्रको अभिलेख उक्त नागरिकता जारी गर्ने कार्यालयमा राखी सम्बन्धित कर्मचारीको स्थायी ठेगाना भएको जिल्ला प्रशासन
कार्यालयलाई समेत जानकारी दिनु पर्नेछ । स्पष्टीकरणःयस नियमको प्रयोजनको लागि –
(१) “कर्मचारी” भन्नाले नेपाल सरकारको कोषबाट तलब भत्ता खाने कर्मचारी वा संस्थानका कर्मचारी वा शिक्षक वा प्राध्यापक सम्झनु पर्छ ।
(२) “परिवार” भन्नाले खण्ड (१) मा उल्लिखित कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा, वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासु, ससुरासमेतलाई जनाउँछ ।